बजा लौरी डाङडुङ👇
दिलबहादुर आफ्नो झुपडीमा रमाएरै बसेको थियो। लेकमा उसको थोरै बारी थियो । त्यही बारीमा मकै, कोदो आदि लगाउँथ्यो र जेनतेन आफ्नो जीविका चलाउँथ्यो । ऊ उज्यालो भएपछि बारीमा जान्थ्यो र अँध्यारो भएपछि फर्कन्थ्यो ।
एक दिन दिलबहादुर मकै छर्न आफ्नो बारीतिर लाग्यो । उ सँग खाजालाई भनी कोदाको रोटीको पोको थियो। ऊ खाजा खानुपर्यो भनी मध्याहृतिर एउटा रूखको छायामा बस्यो । उसले आफूले ल्याएको रोटीको पोको फुकायो र सानो थैलीमा रहेको एक ढिको नुन र एक ढिँडी खोर्सानी पनि झिक्यो।
एउटा रोटीलाई सात टुक्रा पार्यो। रोटीका टुक्राहरू गन्दै भन्न थाल्यो - "एक खाऊँ, दुई खाऊँ, तीन खाऊँ, चार खाऊँ, पाँच खाऊँ, छ खाऊँ कि सात ओटै खाऊँ ।" संयोगले ऊ बसेको रूखमुनि ठूलो ओडार रहेछ । त्यहाँ राक्षसका सात जना बच्चाहरू बस्दा रहेछन् ।
दिलबहादुरले सात ओटै खाऊँ भनेको सुनेर राक्षस डरायो र भन्न थाल्यो "नखा मनुख्खे नखा, मेरा बालकहरू नखा । तँलाई खीरपाक ताउली दिउँला ।” यति भन्दै राक्षसले दिलबहादुरलाई खीरपाक ताउली दियो ।
खीरपाक ताउली लिएर दिलबहादुर आफ्नो घर फर्थ्यो। उसकी फुपू घरमा आएकी रहिछन् । फुपूचाहिँ छुच्ची र लोभी स्वभावकी थिइन् । यसो गतिलो सामान देख्यो कि माइतबाट लुकाएर आफ्ना घरतिर पुऱ्याउँथिन् ।
बेलुकीपख, दिलबहादुरले खीरपाक ताउलीको परीक्षा गर्ने सोच्यो । आफूअगाडि ताउली राखी 'खीरपाक ताउली' भन्यो । साँच्चीकै ताउलीमा खीर पाक्यो । यो देखेर फुपू पनि छक्क परिन् । राती उनले राती दिलबहादुर सुतेपछि त्यहाँ ताउलीजस्तै अर्कै भाँडो राखिदिइन् र सक्कली ताउली लुकाइन् ।
अर्को दिन, सधैंझै बिहानीपख दिलबहादुर रोटीको पोको बोकी आफ्ना बारीतिर लाग्यो। खाजा खाने बेलामा त्यही रूखमुनि बसी रोटीको पोको फुकायो। पहिले जस्तै रोटीको टुक्रा गन्दै भन्न थाल्यो - "एक खाऊँ, दुई खाऊँ, तीन खाऊँ, चार खाऊँ, पाँच खाऊँ, छ खाऊँ कि सात ओटै खाऊँ।” यो सुनी ओडारबाट राक्षस अतालिएर बाहिर आई डराउँदै भन्न थाल्यो - "नखा मनुक्खे, नखा मनुक्खे । तँलाई म सुनबड्कौँली बाखो दिन्छु ।" दिलबहादुरले सुनबड्कौँली बाख्रो पायो । ऊ बाख्रो डोऱ्याउँदै आफ्नो घरतर्फ लाग्यो ।
आफू घर पुगेपछि फुपूलाई बाख्रो देखाउँदै भन्यो हेर्नुहोस् फुपू यो 'सुनबड्कौँली' बाख्रो हो । सुनबड्ङ्कौँली भनेपछि सुनका बड्ङ्कौँला निकाल्छ ।” दिलबहादुरले बाख्रोलाई अगाडि ल्याएर सुनबड्कौँली बाख्रो, सुनबड्ङ्कौँली बाख्रो भन्यो। नभन्दै बाख्रोले सुनैसुनका बड्ङ्कौँला पार्यो । फुपूचाहिँ मनमनै यो बाख्रो पनि हात पार्नुपर्यो भनी जाल रच्न थालिन् । राती दिलबहादुर सुतेपछि बाख्रो साटिदिइन् र आफ्नो घरतिर बाख्रो पठाइन् ।
अर्को दिन पनि दिलबहादुर रोटीका पोका बोकी बारीतिर लाग्यो । पहिले जस्तै रूखमुनि बसी रोटीका टुक्रा गन्दै भन्न थाल्यो - "एक खाऊँ, दुई खाऊँ, तीन खाऊँ, चार खाऊँ, पाँच खाऊँ, छ खाऊँ कि सात ओटै खाऊँ।" यस पटक त राक्षस झनै कहालिएर बाहिर आयो र हात जोडी भन्न थाल्यो - "नखा मनुक्खे, नखा । यस पटक म तँलाई डाङडुङ लौरी दिउँला। यस लौरीले जसलाई भन्यो, त्यसलाई पिटेर कायल पार्छ ।” दिलबहादुरले हुन्छ भन्दै लौरी लियो ।
बेलुकी भात खाइसकेपछि दिलबहादुर सुत्यो । फुपूचाहिँ यस पटक पनि दिलबहादुरले केही न केही पक्कै ल्याएको हुनुपर्छ भनी सुस्तरी कोठाभित्र पसिन् । कोठामा राम्रो लौरी देखेपछि पक्कै पनि यो चमत्कारी हुनुपर्छ भन्ने ठानिन् । चोर्ने मनसायले सुस्तरी लौरी झिकिन् ।
एक्कासि दिलबहादुर बिउँझ्यो। अँध्यारामा चोरले लौरी चोर्न लागेछ क्यारे भन्ने ठानी उसले बजा लौरी डाङडुङ भन्यो। लौरीले फुपूलाई चुट्न थाल्यो । फुपू कायल भइन् । उनले पहिले चोरेका खीरपाक ताउली र सुनबड्ङ्कौली बाख्रि फिर्ता दिन मन्जुर गरिन् । फुपूले सक्कली माल चोरेको थाहा पाएर दिलबहादुर छक्क पर्यो। उसले लौरीलाई नपिट् भन्ने आज्ञा दियो । फुपूसँग सक्कली माल फिर्ता लिएर आनन्दसँग बस्यो ।
सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला यो कथा बैकुण्ठ जाला�