Hindi Quote in Story by Raju kumar Chaudhary

Story quotes are very popular on BitesApp with millions of authors writing small inspirational quotes in Hindi daily and inspiring the readers, you can start writing today and fulfill your life of becoming the quotes writer or poem writer.

सेवा गरे मेवा मिल्छ👇

कुनै गाउँमा सन्तु भन्ने एउटा अन्धो केटो बस्थ्यो। उसका घरमा बाबु र एउटा कुकुरबाहेक अरू कोही थिएन ।

एक दिन सन्तु कोठामा बसिरहेको थियो । त्यही कोठामा लालटिनको उज्यालामा उसका बाबु केही लेख्दै थिए । सन्तुले दुई चारपटक आफ्नो कुकुरलाई बोलायो। कुकुर नआएपछि ऊ जुरुक्क उठ्यो र छामछाम छुमछुम गर्दै ढोकातिर लाग्यो। कोठामा लालटिन बलिरहेको छ भनेर उसलाई पत्तै भएन। हिँड्दा लालटिनमा अल्झेर ऊ लड्यो। लालटिन घोप्टियो। त्यसको मट्टीतेल छताछुल्ल भयो । अनि लालटिनको चिम पनि फुट्‌यो। यो देखेर उसका बाबु एकदमै रिसाएर कराउन थाले

"हत्तेरी । आज फेरि लालटिन ढाल्यो । ए, चिम पनि फुटाएछ । सन्ते । तँ त खालि उपद्रो मात्र गर्छस् । तैंले एउटा न एउटा काम नबिगारेको त दिनै छैन । म त तँलाई देखेर हैरान भैसकें। हरे शिव । मेरो कर्म पनि कस्तो रहेछ । यस्तो छोरो जन्मनुभन्दा त बरु नजन्मेकै भए बेस हुन्थ्यो ..."

बाबुको कुराले सन्तुको चित्त साह्रै दुख्यो - "अहो । मैले बालाई असाध्यै दुःख दिएछु । मलाई देखेर बा दिक्क भइसक्नुभयो भने म यो घरमा बस्ने कामै छैन। अब मैले घरबाट निस्केर कतै टाढा जानुपर्छ ।” सन्तुले मनमनै विचार गर्यो । अनि आफ्नो प्रिय साथी कुकुरलाई सँगै डोऱ्याई सन्तु घरबाट निस्क्यो ।

सन्तु हातमा एउटा लामो लट्ठी लिन्थ्यो र त्यही कुकुरलाई सँगसँगै डोऱ्याएर दिनभरि लर्खराइरहन्थ्यो। कुकुर पनि सन्तुलाई चौप‌ट्टै माया गर्थ्यो र हर तरहबाट उसलाई पहरा दिइरहन्थ्यो । यी दुई जना कहिले पाटीमा सुत्थे त कहिले भुइँमै । कहिले सडकको पेटीमा सुत्थे भने कहिले रूखको फेदमा ।

कुकुर विभिन्न किसिमको नाच देखाउँथ्यो र त्यो हेर्न मानिस झुम्मिन्थे । उनीहरू सन्तुलाई एक/दुई पैसा दिन्थे र जान्थे । त्यही पैसा र मागेको पैसा जम्मा गरी सन्तु केही खाने कुरा किन्थ्यो । अनि आफू पनि खान्थ्यो, कुकुरलाई पनि दिन्थ्यो ।

एक रात टहटह जून लागिरहेको थियो । सन्तु ठूलो रूखको चौतारीमा कुकुरलाई काखी च्यापेर सुतिरहेको थियो । ऊ भुसुक्क निदायो र सपना देख्न थाल्यो । सपनामा एउटी अति राम्री परीले उसलाई भनिन् - "तिमी मलाई देख्न सक्छौ ?"

"अहँ, म अन्धो छु। तिमी मलाई देख्नसक्ने बनाइदिन सक्छ्यौ ?" सन्तुले सोध्यो ।

"म तिमीलाई देख्नसक्ने बनाउन त सक्दिनँ तर तिमीले आफैँलाई मदत गर्नुपर्छ । सन्तु । तिमीले कुनै असल काम गर्नेबित्तिकै तिम्रो आँखामा ज्योति आउनेछ । तिमीले अरूलाई मदत गरेका बेला तिमी पहिलेभन्दा अलि राम्ररी देख्न सक्नेछौ तर तिमी स्वार्थी भयौ र अरूलाई मदत गरेनौ भने तिम्रा आँखाको ज्योति हराउनेछ ।"

बिहानको न्यानो घामले सन्तुलाई ब्यूँझायो। सधैंझैँ ऊ कुकुरलाई लिएर पैसा माग्न हिँड्यो । बाटोमा एउटा बूढो माग्ने कराइरहेको थियो "एक पैसा देऊ न, एक पैसा देऊ न ।"

सन्तुले भन्यो - "मैले पैसा दिने रे ? म पनि त तिमीजस्तै माग्ने हुँ नि । मैले के पैसा दिने ? त्यसमाथि म अन्धो छु ।"

बूढो माग्नेले भन्यो -“तिमीभन्दा म दुःखी छु, बाबु । तिमी हिँड्न सक्छौ, तर म अन्धो र लङ्गडो पनि छु ।"

सन्तुले आफूसँग भएको एक पैसा माग्नेलाई दियो ।

त्यति नै खेर उसका आँखामा उज्यालो ज्योति आयो। ऊ त पहिलेभन्दा अलि देख्न सक्ने भएछ ।

निकै बेर मागेपछि सन्तुले केही खाने कुरा पायो र त्यही लिएर ऊ पाटीमा सुत्न गयो ।

पाटीमा उसले एउटी बूढी आइमाईले 'भोक लाग्यो, भोक लाग्यो' भनी कराइरहेको सुन्यो । बूढी बिरामी र धेरै दिनकी भोकाएकी थिइन् । सन्तुले के खाउँला भन्ने वास्तै नगरी ती बूढीलाई आफूले खान लागेको कुरा दियो । त्यो दिनेबित्तिकै उसका आँखामा झन् उज्यालो आयो । बाहिरको टहटह जून पनि उसले अनुभव गर्यो । त्यो रात सन्तु भोकै सुत्यो

भोलिपल्ट सन्तुको कुकुरले एउटा कुखुरो च्यापेर ल्याएछ । त्यो कुखुरा बेचेपछि सन्तुले केही पैसा पायो तर त्यो पैसा हातमा लिनेबित्तिकै उसका आँखामा कालो पर्दाजस्तो लाग्यो। ऊ अघि जस्तो गरी देख्न नसक्ने भयो। "अहो । मैले गल्ती गरेँ। अरूको माल मैले त्यसै लिन नहुने थियो। गएर उसको पैसा दिन्छु ।" सन्तुले मनमनै विचार गर्यो ।

सन्तुले कुखुराको मालिकलाई भन्यो “मेरो कुकुरले तपाईंको कुखुरा ल्याएछ । माफ गर्नुहोस्, यो पैसा लिनुहोस् ।"

सन्तुले कुखुराको मालिकलाई पैसा दिनेबित्तिकै फेरि उसका आँखामा उज्यालो आयो । ऊ घाम छायासम्म छुट्‌याउन सक्ने भयो। "

यसरी नै सन्तुका दिन बित्न थाले। एक दिन कुकुरलाई लिएर सन्तु नदीका किनारमा पुग्यो । नदीमा बाढी आइरहेको थियो। त्यत्तिकैमा कसैले 'गुहार । गुहार ।' भनेको आवाज उसका कानमा पर्यो। त्यस मानिसलाई कसरी बचाउने भनेर सन्तुले सोच्नै सकेन ।

"यही एउटा कुकुर छ । यसलाई पनि बाढीले बगायो भने मैले के गर्ने ? " सन्तु यस्तै कुरा सोच्दै थियो। फेरि 'गुहार। गुहार।' को आवाज चारैतिर घन्किन थाल्यो । आखिरमा सन्तुले त्यस मानिसलाई बचाउन कुकुरलाई नदीमा पठायो ।

केही बेरपछि स्याँ स्याँ गर्दै एउटा मान्छे सन्तुको नजिक आयो र उसलाई धन्यवाद दियो ।

"मेरो कुकुर खै त ?” सन्तुले आत्तिदै सोध्यो ।

"मैले तिम्रो कुकुरलाई बचाउन धेरै कोसिस गरें तर सकिनँ...।" त्यस मानिसले भन्यो ।

उसको कुरा सकिन नपाउँदै सन्तु मुख छोपेर डाँको छोडेर रुन थाल्यो-"हरे । म अब कसरी बाँच्नु ? यस संसारमा अब मेरो भन्ने कोही छैन ।"

त्यस मानिसलाई सन्तुप्रति दया जाग्यो। उसले भन्यो "हिँड, म तिमीलाई घर पुऱ्याइदिन्छु । तिम्रा बाले तिमीलाई अर्को कुकुर किनिदिनुहुन्छ ।"

"मैले घर छाडेको त कति वर्ष भइसक्यो। मेरी आमा थिइनन् । म अन्धो भएको कारणले बा गाली गरिरहन्थे। मैले एक दिन लालटिन ढालें अनि चिम फुट्यो । त्यसपछि बाले साह्रै चित्त दुख्ने गरी गाली गरे। मलाई घरमा बस्नै मन लागेन । त्यही कुकुरसिवाय मेरो कोही थिएन ।" सन्तुले रुँदै भन्यो । सन्तुका कुराले त्यस मान्छेको हृदय छिया-छिया भयो ।

"बाबु । तिमी मलाई आफ्नो मुख देखाऊ त ।” त्यस मान्छेलाई सन्तुको आवाज चिनेजस्तो लाग्यो ।

सन्तु त्यस मान्छेपट्टि फर्कियो। त्यस मान्छेले उसको अनुहार राम्रैसँग देख्यो । त्यो मान्छे अरू कोही नभएर उसकै छोरो रहेछ ।

सन्तुलाई छातीमा टाँस्दै उसले भन्यो - "सन्तु । मलाई माफ गर। म तिम्रो निर्दयी बाबु हुँ। तिमीले किन घर छोडेर हिँडेको, सन्तु ? बाबुले त्यति भन्दैमा तिमीले चित्त दुखाएर घर छोड्नुपर्थ्यो त ? आखिर म तिम्रो बाबु पो हुँ। मलाई जति तिम्रो माया कसलाई लाग्ला ? कति दिन मागेर खान्छौ, हिँड घर जाऔं। अबदेखि म कहिल्यै तिम्रो चित्त दुखाउने छैन ।"

सन्तुले पनि उसलाई बाबु भनी चिन्यो अनि भन्यो- “म अब राम्ररी देख्छु, अन्धो छैन बा । अब मागेर खान पर्दैन । काम गर्नसक्छु ।"

"जे भए पनि मेरो पनि तिमीबाहेक को छ र । हिँड घरै जाऊँ।" बाबुले यति भनेपछि सन्तु र उसका बाबु घरतिर लागे।

बाटाभरि सन्तुले बाबुलाई परीको कथा सुनाउँदै गयो । परीले सेवा गर्नु भनेको कुरा पनि उसले बाबुलाई बतायो ।

बाबुले भने - "परीको कुरा त सत्य हो, सन्तु। त्यसैले त 'सेवा गरे मेवा मिल्छ' भनेको नि "

सन्तुले परीका शब्द र आफ्नो प्रिय साथी कुकुरलाई कहिल्यै बिर्सन सकेन ।
🙏🙏🙏🙏🙏�

Hindi Story by Raju kumar Chaudhary : 112004536
New bites

The best sellers write on Matrubharti, do you?

Start Writing Now