सेवा गरे मेवा मिल्छ👇
कुनै गाउँमा सन्तु भन्ने एउटा अन्धो केटो बस्थ्यो। उसका घरमा बाबु र एउटा कुकुरबाहेक अरू कोही थिएन ।
एक दिन सन्तु कोठामा बसिरहेको थियो । त्यही कोठामा लालटिनको उज्यालामा उसका बाबु केही लेख्दै थिए । सन्तुले दुई चारपटक आफ्नो कुकुरलाई बोलायो। कुकुर नआएपछि ऊ जुरुक्क उठ्यो र छामछाम छुमछुम गर्दै ढोकातिर लाग्यो। कोठामा लालटिन बलिरहेको छ भनेर उसलाई पत्तै भएन। हिँड्दा लालटिनमा अल्झेर ऊ लड्यो। लालटिन घोप्टियो। त्यसको मट्टीतेल छताछुल्ल भयो । अनि लालटिनको चिम पनि फुट्यो। यो देखेर उसका बाबु एकदमै रिसाएर कराउन थाले
"हत्तेरी । आज फेरि लालटिन ढाल्यो । ए, चिम पनि फुटाएछ । सन्ते । तँ त खालि उपद्रो मात्र गर्छस् । तैंले एउटा न एउटा काम नबिगारेको त दिनै छैन । म त तँलाई देखेर हैरान भैसकें। हरे शिव । मेरो कर्म पनि कस्तो रहेछ । यस्तो छोरो जन्मनुभन्दा त बरु नजन्मेकै भए बेस हुन्थ्यो ..."
बाबुको कुराले सन्तुको चित्त साह्रै दुख्यो - "अहो । मैले बालाई असाध्यै दुःख दिएछु । मलाई देखेर बा दिक्क भइसक्नुभयो भने म यो घरमा बस्ने कामै छैन। अब मैले घरबाट निस्केर कतै टाढा जानुपर्छ ।” सन्तुले मनमनै विचार गर्यो । अनि आफ्नो प्रिय साथी कुकुरलाई सँगै डोऱ्याई सन्तु घरबाट निस्क्यो ।
सन्तु हातमा एउटा लामो लट्ठी लिन्थ्यो र त्यही कुकुरलाई सँगसँगै डोऱ्याएर दिनभरि लर्खराइरहन्थ्यो। कुकुर पनि सन्तुलाई चौपट्टै माया गर्थ्यो र हर तरहबाट उसलाई पहरा दिइरहन्थ्यो । यी दुई जना कहिले पाटीमा सुत्थे त कहिले भुइँमै । कहिले सडकको पेटीमा सुत्थे भने कहिले रूखको फेदमा ।
कुकुर विभिन्न किसिमको नाच देखाउँथ्यो र त्यो हेर्न मानिस झुम्मिन्थे । उनीहरू सन्तुलाई एक/दुई पैसा दिन्थे र जान्थे । त्यही पैसा र मागेको पैसा जम्मा गरी सन्तु केही खाने कुरा किन्थ्यो । अनि आफू पनि खान्थ्यो, कुकुरलाई पनि दिन्थ्यो ।
एक रात टहटह जून लागिरहेको थियो । सन्तु ठूलो रूखको चौतारीमा कुकुरलाई काखी च्यापेर सुतिरहेको थियो । ऊ भुसुक्क निदायो र सपना देख्न थाल्यो । सपनामा एउटी अति राम्री परीले उसलाई भनिन् - "तिमी मलाई देख्न सक्छौ ?"
"अहँ, म अन्धो छु। तिमी मलाई देख्नसक्ने बनाइदिन सक्छ्यौ ?" सन्तुले सोध्यो ।
"म तिमीलाई देख्नसक्ने बनाउन त सक्दिनँ तर तिमीले आफैँलाई मदत गर्नुपर्छ । सन्तु । तिमीले कुनै असल काम गर्नेबित्तिकै तिम्रो आँखामा ज्योति आउनेछ । तिमीले अरूलाई मदत गरेका बेला तिमी पहिलेभन्दा अलि राम्ररी देख्न सक्नेछौ तर तिमी स्वार्थी भयौ र अरूलाई मदत गरेनौ भने तिम्रा आँखाको ज्योति हराउनेछ ।"
बिहानको न्यानो घामले सन्तुलाई ब्यूँझायो। सधैंझैँ ऊ कुकुरलाई लिएर पैसा माग्न हिँड्यो । बाटोमा एउटा बूढो माग्ने कराइरहेको थियो "एक पैसा देऊ न, एक पैसा देऊ न ।"
सन्तुले भन्यो - "मैले पैसा दिने रे ? म पनि त तिमीजस्तै माग्ने हुँ नि । मैले के पैसा दिने ? त्यसमाथि म अन्धो छु ।"
बूढो माग्नेले भन्यो -“तिमीभन्दा म दुःखी छु, बाबु । तिमी हिँड्न सक्छौ, तर म अन्धो र लङ्गडो पनि छु ।"
सन्तुले आफूसँग भएको एक पैसा माग्नेलाई दियो ।
त्यति नै खेर उसका आँखामा उज्यालो ज्योति आयो। ऊ त पहिलेभन्दा अलि देख्न सक्ने भएछ ।
निकै बेर मागेपछि सन्तुले केही खाने कुरा पायो र त्यही लिएर ऊ पाटीमा सुत्न गयो ।
पाटीमा उसले एउटी बूढी आइमाईले 'भोक लाग्यो, भोक लाग्यो' भनी कराइरहेको सुन्यो । बूढी बिरामी र धेरै दिनकी भोकाएकी थिइन् । सन्तुले के खाउँला भन्ने वास्तै नगरी ती बूढीलाई आफूले खान लागेको कुरा दियो । त्यो दिनेबित्तिकै उसका आँखामा झन् उज्यालो आयो । बाहिरको टहटह जून पनि उसले अनुभव गर्यो । त्यो रात सन्तु भोकै सुत्यो
भोलिपल्ट सन्तुको कुकुरले एउटा कुखुरो च्यापेर ल्याएछ । त्यो कुखुरा बेचेपछि सन्तुले केही पैसा पायो तर त्यो पैसा हातमा लिनेबित्तिकै उसका आँखामा कालो पर्दाजस्तो लाग्यो। ऊ अघि जस्तो गरी देख्न नसक्ने भयो। "अहो । मैले गल्ती गरेँ। अरूको माल मैले त्यसै लिन नहुने थियो। गएर उसको पैसा दिन्छु ।" सन्तुले मनमनै विचार गर्यो ।
सन्तुले कुखुराको मालिकलाई भन्यो “मेरो कुकुरले तपाईंको कुखुरा ल्याएछ । माफ गर्नुहोस्, यो पैसा लिनुहोस् ।"
सन्तुले कुखुराको मालिकलाई पैसा दिनेबित्तिकै फेरि उसका आँखामा उज्यालो आयो । ऊ घाम छायासम्म छुट्याउन सक्ने भयो। "
यसरी नै सन्तुका दिन बित्न थाले। एक दिन कुकुरलाई लिएर सन्तु नदीका किनारमा पुग्यो । नदीमा बाढी आइरहेको थियो। त्यत्तिकैमा कसैले 'गुहार । गुहार ।' भनेको आवाज उसका कानमा पर्यो। त्यस मानिसलाई कसरी बचाउने भनेर सन्तुले सोच्नै सकेन ।
"यही एउटा कुकुर छ । यसलाई पनि बाढीले बगायो भने मैले के गर्ने ? " सन्तु यस्तै कुरा सोच्दै थियो। फेरि 'गुहार। गुहार।' को आवाज चारैतिर घन्किन थाल्यो । आखिरमा सन्तुले त्यस मानिसलाई बचाउन कुकुरलाई नदीमा पठायो ।
केही बेरपछि स्याँ स्याँ गर्दै एउटा मान्छे सन्तुको नजिक आयो र उसलाई धन्यवाद दियो ।
"मेरो कुकुर खै त ?” सन्तुले आत्तिदै सोध्यो ।
"मैले तिम्रो कुकुरलाई बचाउन धेरै कोसिस गरें तर सकिनँ...।" त्यस मानिसले भन्यो ।
उसको कुरा सकिन नपाउँदै सन्तु मुख छोपेर डाँको छोडेर रुन थाल्यो-"हरे । म अब कसरी बाँच्नु ? यस संसारमा अब मेरो भन्ने कोही छैन ।"
त्यस मानिसलाई सन्तुप्रति दया जाग्यो। उसले भन्यो "हिँड, म तिमीलाई घर पुऱ्याइदिन्छु । तिम्रा बाले तिमीलाई अर्को कुकुर किनिदिनुहुन्छ ।"
"मैले घर छाडेको त कति वर्ष भइसक्यो। मेरी आमा थिइनन् । म अन्धो भएको कारणले बा गाली गरिरहन्थे। मैले एक दिन लालटिन ढालें अनि चिम फुट्यो । त्यसपछि बाले साह्रै चित्त दुख्ने गरी गाली गरे। मलाई घरमा बस्नै मन लागेन । त्यही कुकुरसिवाय मेरो कोही थिएन ।" सन्तुले रुँदै भन्यो । सन्तुका कुराले त्यस मान्छेको हृदय छिया-छिया भयो ।
"बाबु । तिमी मलाई आफ्नो मुख देखाऊ त ।” त्यस मान्छेलाई सन्तुको आवाज चिनेजस्तो लाग्यो ।
सन्तु त्यस मान्छेपट्टि फर्कियो। त्यस मान्छेले उसको अनुहार राम्रैसँग देख्यो । त्यो मान्छे अरू कोही नभएर उसकै छोरो रहेछ ।
सन्तुलाई छातीमा टाँस्दै उसले भन्यो - "सन्तु । मलाई माफ गर। म तिम्रो निर्दयी बाबु हुँ। तिमीले किन घर छोडेर हिँडेको, सन्तु ? बाबुले त्यति भन्दैमा तिमीले चित्त दुखाएर घर छोड्नुपर्थ्यो त ? आखिर म तिम्रो बाबु पो हुँ। मलाई जति तिम्रो माया कसलाई लाग्ला ? कति दिन मागेर खान्छौ, हिँड घर जाऔं। अबदेखि म कहिल्यै तिम्रो चित्त दुखाउने छैन ।"
सन्तुले पनि उसलाई बाबु भनी चिन्यो अनि भन्यो- “म अब राम्ररी देख्छु, अन्धो छैन बा । अब मागेर खान पर्दैन । काम गर्नसक्छु ।"
"जे भए पनि मेरो पनि तिमीबाहेक को छ र । हिँड घरै जाऊँ।" बाबुले यति भनेपछि सन्तु र उसका बाबु घरतिर लागे।
बाटाभरि सन्तुले बाबुलाई परीको कथा सुनाउँदै गयो । परीले सेवा गर्नु भनेको कुरा पनि उसले बाबुलाई बतायो ।
बाबुले भने - "परीको कुरा त सत्य हो, सन्तु। त्यसैले त 'सेवा गरे मेवा मिल्छ' भनेको नि "
सन्तुले परीका शब्द र आफ्नो प्रिय साथी कुकुरलाई कहिल्यै बिर्सन सकेन ।
🙏🙏🙏🙏🙏�