Hindi Quote in Story by Raju kumar Chaudhary

Story quotes are very popular on BitesApp with millions of authors writing small inspirational quotes in Hindi daily and inspiring the readers, you can start writing today and fulfill your life of becoming the quotes writer or poem writer.

🟢धनको घमन्ड

देउताहरूमा सबैभन्दा धनी कुबेर थिए । कहिलेकाहीँ देउताहरू धनसम्पत्तिको खाँचो पर्दा उनैकहाँ पुग्थे। कुबेर पनि मदत गरेर पठाउँथे । यसरी ठूलठूला देउताहरूसमेत आफूकहाँ मदत माग्न आउँछन् भन्दै कुबेर लाई धनको घमन्ड चढ्दै गयो। उनको घमन्डका बारेमा देउताहरूलाई थाहा नभएको होइन तैपनि सबै चुप थिए । गणेशजीचाहिँ कसरी कुबेरको घमन्ड तोडौँ भनी मौकाको खोजीमा थिए ।

एक दिन कुबेरले ठूलो भोजको आयोजना गरे । सबै देवी देउताहरूलाई निम्तो गरियो। भोजमा बलवान् भीमसेनदेखि रिसाहा ऋषि दुर्वासा सम्म थिए। सबै जना कुबेरको ठाँटबाँट देखी दङ्ग र आश्चर्यचकित भए । एक छिनपछि ठूलो भुँडी हल्लाउँदै गणेशजी पनि त्यहीँ पुगे ।

कुबेरले गणेशजीलाई देख्नेबित्तिकै बडो सम्मानका साथ भित्र लगे । उनलाई विभिन्न प्रकारका खाने कुरा खुवाउन थालियो । गणेशजी आफ्ना अगाडि भएका सबै खाने कुरा सिद्ध्‌याउन थाले । उनलाई खुवाउन मान्छेहरूले दौडादौड गर्दै खाने कुरा ल्याए । जति खाने कुरा ल्याए पनि गणेशजी एकै गाँसमा सिद्ध्याइदिन्थे । गणेशजीलाई खाने कुरा थप्दाथप्दै पकाएका सबै खाने कुराहरू सकिए । अझ पनि गणेशजीको पेट भरिएको थिएन ।

उता भान्सामा अरू खाने कुरा तयार पारिँदै थियो, यता गणेशजी अझै खाने कुरा ल्याऊ भनी माग्दै थिए ।

खाने कुरा ल्याउन ढिलो भयो भनी गणेशजी आफैं भान्सामा पुगे । पकाउँदा-पकाउँदैका खाने कुरा झिक्दै खान थाले। भान्सामा पनि सबै खाने कुरा सिद्धियो। गणेशजी मलाई अझ खाने कुरा चाहियो भन्दै कुर्लन थाले । कुबेरले गणेशजीसँग बिन्ती गर्दै भने “अब त नपकाएका दाल-चामल र तरकारी मात्र छन् । केही छिन पर्खनुपर्यो ।" गणेशजी झन् गर्जदै खोइ, कहाँ राख्या' छ, त्यही भए पनि ल्याउनुपर्यो भन्दै भण्डारतिर लागे । भण्डारमा भएभरका सबै अन्नहरू त्यत्तिकै खाइदिए। गणेशजीले खाएर भण्डार पनि रित्तो पारे। खोइ त अरू अन्नहरू कहाँ छन् ? भन्दै गणेशजी उफन थाले । कुबेरले आफ्नो त्यत्रो भण्डार पनि रित्तो भएको देखी उनको हंसले ठाउँ छोड्यो । कुबेर डराउँदै भन्न थाले "अब त भण्डारमा सबै थोक सकियो, केही छिन पर्खनुहोस् । म बाहिरबाट मगाउँछु ।”

यो सुनेपछि गणेशजी झन् रिसाएर भन्न थाले "तिम्रो भण्डारमा मलाई पेटभरि खुवाउने अन्नपात नभए किन डाक्यौ त ? मलाई त ज्यादै भोक लागेको छ । तिमीलाई भए पनि खान्छु ।"

गणेशजीको यो कुरा सुनेपछि कुबेर डरले भाग्न थाले । कुबेर अघि-अघि भाग्दै गए भने गणेशजी पछि-पछि लखेट्दै गए । धेरै बेरको दौडादौडपछि कुबेर कैलाशमा शङ्करजीलाई गुहार्न पुगे ।

कुबेरलाई देखेपछि शङ्करजीले भन्नुभयो - "कुबेर किन यसरी आत्तिएका ? के भयो ?"

कुबेर हात जोड्दै भन्न थाले "प्रभु, मैले बिराएँ, मेरो ज्यान बचाउनुहोस् । मैले बेर्थैमा आफ्नो धनको घमन्ड गरें ।"

शङ्करजीले गणेशजीलाई पनि सोध्नुभयो - "किन गणेश, कुबेरलाई किन लखेटेको ?'

गणेशजीले भने - "भगवान्, कुबेरले मलाई निम्तो डाकेर पेटभरि खान दिएनन्, भोकै छु ।"

"तिमी भित्र जाऊ, आमासित मागेर पेटभरि खाऊ ।" शङ्करजीले गणेशजीलाई सम्झाएर भित्र पठाउनुभयो ।

त्यहाँबाट कुबेर आफू कहिल्यै पनि धनको घमन्ड नगर्ने प्रतिज्ञा गरी फर्के ।

Hindi Story by Raju kumar Chaudhary : 112004339
New bites

The best sellers write on Matrubharti, do you?

Start Writing Now