🌀 घुम्ने मेच माथि अन्धो मान्छे
✍️ राजु कुमार चौधरी
घुम्ने मेचमाथि अन्धो मान्छे,
आकाश हेर्छ आँखा नहुँदा पनि।
निर्णय गर्छ दिशातिर,
जहाँ उज्यालो छैन, न त बाटो नै।
उसको हातमा समयको घडी छ,
तर घडीमा सुइ घुम्दैन।
कानुनका कागज फाटेका छन्,
तर उसले ती कागज पढ्दैन।
जनताको चिच्याहट —
उसका लागि सिरसिर बतास हो,
भोक, प्यास, पीडा —
सब एउटा "फाइल" हो, जुन उसले कहिल्यै खोल्दैन।
घुम्छ मेच —
कहिले दक्षिण, कहिले उत्तर,
तर दिशा कहिल्यै उसको चाहना जस्तो हुँदैन।
कसैले रोकेको छैन,
किनकि डर सबैलाई लागेको छ —
"अन्धो" भनेर उसलाई देखाउनेहरू पनि,
शायद आफैं चस्मा खोज्दै छन्।
अब प्रश्न उठ्छ —
घुम्ने मेच गलत हो कि
त्यो बस्ने मान्छे?