कुबेर देवताको धनको घमण्ड in Hindi Drama by Raju kumar Chaudhary books and stories PDF | कुबेर देवताको धनको घमण्ड

Featured Books
Categories
Share

कुबेर देवताको धनको घमण्ड

🟢धनको घमन्ड

देउताहरूमा सबैभन्दा धनी कुबेर थिए । कहिलेकाहीँ देउताहरू धनसम्पत्तिको खाँचो पर्दा उनैकहाँ पुग्थे। कुबेर पनि मदत गरेर पठाउँथे । यसरी ठूलठूला देउताहरूसमेत आफूकहाँ मदत माग्न आउँछन् भन्दै कुबेर लाई धनको घमन्ड चढ्दै गयो। उनको घमन्डका बारेमा देउताहरूलाई थाहा नभएको होइन तैपनि सबै चुप थिए । गणेशजीचाहिँ कसरी कुबेरको घमन्ड तोडौँ भनी मौकाको खोजीमा थिए ।

एक दिन कुबेरले ठूलो भोजको आयोजना गरे । सबै देवी देउताहरूलाई निम्तो गरियो। भोजमा बलवान् भीमसेनदेखि रिसाहा ऋषि दुर्वासा सम्म थिए। सबै जना कुबेरको ठाँटबाँट देखी दङ्ग र आश्चर्यचकित भए । एक छिनपछि ठूलो भुँडी हल्लाउँदै गणेशजी पनि त्यहीँ पुगे ।

कुबेरले गणेशजीलाई देख्नेबित्तिकै बडो सम्मानका साथ भित्र लगे । उनलाई विभिन्न प्रकारका खाने कुरा खुवाउन थालियो । गणेशजी आफ्ना अगाडि भएका सबै खाने कुरा सिद्ध्‌याउन थाले । उनलाई खुवाउन मान्छेहरूले दौडादौड गर्दै खाने कुरा ल्याए । जति खाने कुरा ल्याए पनि गणेशजी एकै गाँसमा सिद्ध्याइदिन्थे । गणेशजीलाई खाने कुरा थप्दाथप्दै पकाएका सबै खाने कुराहरू सकिए । अझ पनि गणेशजीको पेट भरिएको थिएन ।

उता भान्सामा अरू खाने कुरा तयार पारिँदै थियो, यता गणेशजी अझै खाने कुरा ल्याऊ भनी माग्दै थिए ।

खाने कुरा ल्याउन ढिलो भयो भनी गणेशजी आफैं भान्सामा पुगे । पकाउँदा-पकाउँदैका खाने कुरा झिक्दै खान थाले। भान्सामा पनि सबै खाने कुरा सिद्धियो। गणेशजी मलाई अझ खाने कुरा चाहियो भन्दै कुर्लन थाले । कुबेरले गणेशजीसँग बिन्ती गर्दै भने “अब त नपकाएका दाल-चामल र तरकारी मात्र छन् । केही छिन पर्खनुपर्यो ।" गणेशजी झन् गर्जदै खोइ, कहाँ राख्या' छ, त्यही भए पनि ल्याउनुपर्यो भन्दै भण्डारतिर लागे । भण्डारमा भएभरका सबै अन्नहरू त्यत्तिकै खाइदिए। गणेशजीले खाएर भण्डार पनि रित्तो पारे। खोइ त अरू अन्नहरू कहाँ छन् ? भन्दै गणेशजी उफन थाले । कुबेरले आफ्नो त्यत्रो भण्डार पनि रित्तो भएको देखी उनको हंसले ठाउँ छोड्यो । कुबेर डराउँदै भन्न थाले "अब त भण्डारमा सबै थोक सकियो, केही छिन पर्खनुहोस् । म बाहिरबाट मगाउँछु ।” 

यो सुनेपछि गणेशजी झन् रिसाएर भन्न थाले "तिम्रो भण्डारमा मलाई पेटभरि खुवाउने अन्नपात नभए किन डाक्यौ त ? मलाई त ज्यादै भोक लागेको छ । तिमीलाई भए पनि खान्छु ।"

गणेशजीको यो कुरा सुनेपछि कुबेर डरले भाग्न थाले । कुबेर अघि-अघि भाग्दै गए भने गणेशजी पछि-पछि लखेट्दै गए । धेरै बेरको दौडादौडपछि कुबेर कैलाशमा शङ्करजीलाई गुहार्न पुगे ।

कुबेरलाई देखेपछि शङ्करजीले भन्नुभयो - "कुबेर किन यसरी आत्तिएका ? के भयो ?"

कुबेर हात जोड्दै भन्न थाले "प्रभु, मैले बिराएँ, मेरो ज्यान बचाउनुहोस् । मैले बेर्थैमा आफ्नो धनको घमन्ड गरें ।" 

शङ्करजीले गणेशजीलाई पनि सोध्नुभयो - "किन गणेश, कुबेरलाई किन लखेटेको ?' 

गणेशजीले भने - "भगवान्, कुबेरले मलाई निम्तो डाकेर पेटभरि खान दिएनन्, भोकै छु ।"

"तिमी भित्र जाऊ, आमासित मागेर पेटभरि खाऊ ।" शङ्करजीले गणेशजीलाई सम्झाएर भित्र पठाउनुभयो ।

त्यहाँबाट कुबेर आफू कहिल्यै पनि धनको घमन्ड नगर्ने प्रतिज्ञा गरी फर्के ।बजा लौरी डाङडुङ👇 
दिलबहादुर आफ्नो झुपडीमा रमाएरै बसेको थियो। लेकमा उसको थोरै बारी थियो । त्यही बारीमा मकै, कोदो आदि लगाउँथ्यो र जेनतेन आफ्नो जीविका चलाउँथ्यो । ऊ उज्यालो भएपछि बारीमा जान्थ्यो र अँध्यारो भएपछि फर्कन्थ्यो ।
एक दिन दिलबहादुर मकै छर्न आफ्नो बारीतिर लाग्यो । उ सँग खाजालाई भनी कोदाको रोटीको पोको थियो। ऊ खाजा खानुपर्यो भनी मध्याहृतिर एउटा रूखको छायामा बस्यो । उसले आफूले ल्याएको रोटीको पोको फुकायो र सानो थैलीमा रहेको एक ढिको नुन र एक ढिँडी खोर्सानी पनि झिक्यो।
 एउटा रोटीलाई सात टुक्रा पार्यो। रोटीका टुक्राहरू गन्दै भन्न थाल्यो - "एक खाऊँ, दुई खाऊँ, तीन खाऊँ, चार खाऊँ, पाँच खाऊँ, छ खाऊँ कि सात ओटै खाऊँ ।" संयोगले ऊ बसेको रूखमुनि ठूलो ओडार रहेछ । त्यहाँ राक्षसका सात जना बच्चाहरू बस्दा रहेछन् ।
दिलबहादुरले सात ओटै खाऊँ भनेको सुनेर राक्षस डरायो र भन्न थाल्यो "नखा मनुख्खे नखा, मेरा बालकहरू नखा । तँलाई खीरपाक ताउली दिउँला ।” यति भन्दै राक्षसले दिलबहादुरलाई खीरपाक ताउली दियो ।
खीरपाक ताउली लिएर दिलबहादुर आफ्नो घर फर्थ्यो। उसकी फुपू घरमा आएकी रहिछन् । फुपूचाहिँ छुच्ची र लोभी स्वभावकी थिइन् । यसो गतिलो सामान देख्यो कि माइतबाट लुकाएर आफ्ना घरतिर पुऱ्याउँथिन् ।
बेलुकीपख, दिलबहादुरले खीरपाक ताउलीको परीक्षा गर्ने सोच्यो । आफूअगाडि ताउली राखी 'खीरपाक ताउली' भन्यो । साँच्चीकै ताउलीमा खीर पाक्यो । यो देखेर फुपू पनि छक्क परिन् । राती उनले राती दिलबहादुर सुतेपछि त्यहाँ ताउलीजस्तै अर्कै भाँडो राखिदिइन् र सक्कली ताउली लुकाइन् ।
अर्को दिन, सधैंझै बिहानीपख दिलबहादुर रोटीको पोको बोकी आफ्ना बारीतिर लाग्यो। खाजा खाने बेलामा त्यही रूखमुनि बसी रोटीको पोको फुकायो। पहिले जस्तै रोटीको टुक्रा गन्दै भन्न थाल्यो - "एक खाऊँ, दुई खाऊँ, तीन खाऊँ, चार खाऊँ, पाँच खाऊँ, छ खाऊँ कि सात ओटै खाऊँ।” यो सुनी ओडारबाट राक्षस अतालिएर बाहिर आई डराउँदै भन्न थाल्यो - "नखा मनुक्खे, नखा मनुक्खे । तँलाई म सुनबड्‌कौँली बाखो दिन्छु ।" दिलबहादुरले सुनबड्‌कौँली बाख्रो पायो । ऊ बाख्रो डोऱ्याउँदै आफ्नो घरतर्फ लाग्यो ।
आफू घर पुगेपछि फुपूलाई बाख्रो देखाउँदै भन्यो हेर्नुहोस् फुपू यो 'सुनबड्‌कौँली' बाख्रो हो । सुनबड्‌ङ्कौँली भनेपछि सुनका बड्‌ङ्कौँला निकाल्छ ।” दिलबहादुरले बाख्रोलाई अगाडि ल्याएर सुनबड्‌कौँली बाख्रो, सुनबड्‌ङ्कौँली बाख्रो भन्यो। नभन्दै बाख्रोले सुनैसुनका बड्‌ङ्कौँला पार्यो । फुपूचाहिँ मनमनै यो बाख्रो पनि हात पार्नुपर्यो भनी जाल रच्न थालिन् । राती दिलबहादुर सुतेपछि बाख्रो साटिदिइन् र आफ्नो घरतिर बाख्रो पठाइन् ।
अर्को दिन पनि दिलबहादुर रोटीका पोका बोकी बारीतिर लाग्यो । पहिले जस्तै रूखमुनि बसी रोटीका टुक्रा गन्दै भन्न थाल्यो - "एक खाऊँ, दुई खाऊँ, तीन खाऊँ, चार खाऊँ, पाँच खाऊँ, छ खाऊँ कि सात ओटै खाऊँ।" यस पटक त राक्षस झनै कहालिएर बाहिर आयो र हात जोडी भन्न थाल्यो - "नखा मनुक्खे, नखा । यस पटक म तँलाई डाङडुङ लौरी दिउँला। यस लौरीले जसलाई भन्यो, त्यसलाई पिटेर कायल पार्छ ।” दिलबहादुरले हुन्छ भन्दै लौरी लियो ।
बेलुकी भात खाइसकेपछि दिलबहादुर सुत्यो । फुपूचाहिँ यस पटक पनि दिलबहादुरले केही न केही पक्कै ल्याएको हुनुपर्छ भनी सुस्तरी कोठाभित्र पसिन् । कोठामा राम्रो लौरी देखेपछि पक्कै पनि यो चमत्कारी हुनुपर्छ भन्ने ठानिन् । चोर्ने मनसायले सुस्तरी लौरी झिकिन् ।
एक्कासि दिलबहादुर बिउँझ्‌यो। अँध्यारामा चोरले लौरी चोर्न लागेछ क्यारे भन्ने ठानी उसले बजा लौरी डाङडुङ भन्यो। लौरीले फुपूलाई चुट्न थाल्यो । फुपू कायल भइन् । उनले पहिले चोरेका खीरपाक ताउली र सुनबड्‌ङ्कौली बाख्रि फिर्ता दिन मन्जुर गरिन् । फुपूले सक्कली माल चोरेको थाहा पाएर दिलबहादुर छक्क पर्यो। उसले लौरीलाई नपिट् भन्ने आज्ञा दियो । फुपूसँग सक्कली माल फिर्ता लिएर आनन्दसँग बस्यो ।
सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला यो कथा बैकुण्ठ जाला😂सेवा गरे मेवा मिल्छ👇

कुनै गाउँमा सन्तु भन्ने एउटा अन्धो केटो बस्थ्यो। उसका घरमा बाबु र एउटा कुकुरबाहेक अरू कोही थिएन ।

एक दिन सन्तु कोठामा बसिरहेको थियो । त्यही कोठामा लालटिनको उज्यालामा उसका बाबु केही लेख्दै थिए । सन्तुले दुई चारपटक आफ्नो कुकुरलाई बोलायो। कुकुर नआएपछि ऊ जुरुक्क उठ्यो र छामछाम छुमछुम गर्दै ढोकातिर लाग्यो। कोठामा लालटिन बलिरहेको छ भनेर उसलाई पत्तै भएन। हिँड्दा लालटिनमा अल्झेर ऊ लड्यो। लालटिन घोप्टियो। त्यसको मट्टीतेल छताछुल्ल भयो । अनि लालटिनको चिम पनि फुट्‌यो। यो देखेर उसका बाबु एकदमै रिसाएर कराउन थाले

"हत्तेरी । आज फेरि लालटिन ढाल्यो । ए, चिम पनि फुटाएछ । सन्ते । तँ त खालि उपद्रो मात्र गर्छस् । तैंले एउटा न एउटा काम नबिगारेको त दिनै छैन । म त तँलाई देखेर हैरान भैसकें। हरे शिव । मेरो कर्म पनि कस्तो रहेछ । यस्तो छोरो जन्मनुभन्दा त बरु नजन्मेकै भए बेस हुन्थ्यो ..."

बाबुको कुराले सन्तुको चित्त साह्रै दुख्यो - "अहो । मैले बालाई असाध्यै दुःख दिएछु । मलाई देखेर बा दिक्क भइसक्नुभयो भने म यो घरमा बस्ने कामै छैन। अब मैले घरबाट निस्केर कतै टाढा जानुपर्छ ।” सन्तुले मनमनै विचार गर्यो । अनि आफ्नो प्रिय साथी कुकुरलाई सँगै डोऱ्याई सन्तु घरबाट निस्क्यो ।

सन्तु हातमा एउटा लामो लट्ठी लिन्थ्यो र त्यही कुकुरलाई सँगसँगै डोऱ्याएर दिनभरि लर्खराइरहन्थ्यो। कुकुर पनि सन्तुलाई चौप‌ट्टै माया गर्थ्यो र हर तरहबाट उसलाई पहरा दिइरहन्थ्यो । यी दुई जना कहिले पाटीमा सुत्थे त कहिले भुइँमै । कहिले सडकको पेटीमा सुत्थे भने कहिले रूखको फेदमा ।

कुकुर विभिन्न किसिमको नाच देखाउँथ्यो र त्यो हेर्न मानिस झुम्मिन्थे । उनीहरू सन्तुलाई एक/दुई पैसा दिन्थे र जान्थे । त्यही पैसा र मागेको पैसा जम्मा गरी सन्तु केही खाने कुरा किन्थ्यो । अनि आफू पनि खान्थ्यो, कुकुरलाई पनि दिन्थ्यो ।

एक रात टहटह जून लागिरहेको थियो । सन्तु ठूलो रूखको चौतारीमा कुकुरलाई काखी च्यापेर सुतिरहेको थियो । ऊ भुसुक्क निदायो र सपना देख्न थाल्यो । सपनामा एउटी अति राम्री परीले उसलाई भनिन् - "तिमी मलाई देख्न सक्छौ ?"

"अहँ, म अन्धो छु। तिमी मलाई देख्नसक्ने बनाइदिन सक्छ्यौ ?" सन्तुले सोध्यो ।

"म तिमीलाई देख्नसक्ने बनाउन त सक्दिनँ तर तिमीले आफैँलाई मदत गर्नुपर्छ । सन्तु । तिमीले कुनै असल काम गर्नेबित्तिकै तिम्रो आँखामा ज्योति आउनेछ । तिमीले अरूलाई मदत गरेका बेला तिमी पहिलेभन्दा अलि राम्ररी देख्न सक्नेछौ तर तिमी स्वार्थी भयौ र अरूलाई मदत गरेनौ भने तिम्रा आँखाको ज्योति हराउनेछ ।"

बिहानको न्यानो घामले सन्तुलाई ब्यूँझायो। सधैंझैँ ऊ कुकुरलाई लिएर पैसा माग्न हिँड्यो । बाटोमा एउटा बूढो माग्ने कराइरहेको थियो "एक पैसा देऊ न, एक पैसा देऊ न ।"

सन्तुले भन्यो - "मैले पैसा दिने रे ? म पनि त तिमीजस्तै माग्ने हुँ नि । मैले के पैसा दिने ? त्यसमाथि म अन्धो छु ।"

बूढो माग्नेले भन्यो -“तिमीभन्दा म दुःखी छु, बाबु । तिमी हिँड्न सक्छौ, तर म अन्धो र लङ्गडो पनि छु ।"

सन्तुले आफूसँग भएको एक पैसा माग्नेलाई दियो ।

त्यति नै खेर उसका आँखामा उज्यालो ज्योति आयो। ऊ त पहिलेभन्दा अलि देख्न सक्ने भएछ ।

निकै बेर मागेपछि सन्तुले केही खाने कुरा पायो र त्यही लिएर ऊ पाटीमा सुत्न गयो ।

पाटीमा उसले एउटी बूढी आइमाईले 'भोक लाग्यो, भोक लाग्यो' भनी कराइरहेको सुन्यो । बूढी बिरामी र धेरै दिनकी भोकाएकी थिइन् । सन्तुले के खाउँला भन्ने वास्तै नगरी ती बूढीलाई आफूले खान लागेको कुरा दियो । त्यो दिनेबित्तिकै उसका आँखामा झन् उज्यालो आयो । बाहिरको टहटह जून पनि उसले अनुभव गर्यो । त्यो रात सन्तु भोकै सुत्यो 

भोलिपल्ट सन्तुको कुकुरले एउटा कुखुरो च्यापेर ल्याएछ । त्यो कुखुरा बेचेपछि सन्तुले केही पैसा पायो तर त्यो पैसा हातमा लिनेबित्तिकै उसका आँखामा कालो पर्दाजस्तो लाग्यो। ऊ अघि जस्तो गरी देख्न नसक्ने भयो। "अहो । मैले गल्ती गरेँ। अरूको माल मैले त्यसै लिन नहुने थियो। गएर उसको पैसा दिन्छु ।" सन्तुले मनमनै विचार गर्यो ।

सन्तुले कुखुराको मालिकलाई भन्यो “मेरो कुकुरले तपाईंको कुखुरा ल्याएछ । माफ गर्नुहोस्, यो पैसा लिनुहोस् ।"

सन्तुले कुखुराको मालिकलाई पैसा दिनेबित्तिकै फेरि उसका आँखामा उज्यालो आयो । ऊ घाम छायासम्म छुट्‌याउन सक्ने भयो। "

यसरी नै सन्तुका दिन बित्न थाले। एक दिन कुकुरलाई लिएर सन्तु नदीका किनारमा पुग्यो । नदीमा बाढी आइरहेको थियो। त्यत्तिकैमा कसैले 'गुहार । गुहार ।' भनेको आवाज उसका कानमा पर्यो। त्यस मानिसलाई कसरी बचाउने भनेर सन्तुले सोच्नै सकेन ।

"यही एउटा कुकुर छ । यसलाई पनि बाढीले बगायो भने मैले के गर्ने ? " सन्तु यस्तै कुरा सोच्दै थियो। फेरि 'गुहार। गुहार।' को आवाज चारैतिर घन्किन थाल्यो । आखिरमा सन्तुले त्यस मानिसलाई बचाउन कुकुरलाई नदीमा पठायो ।

केही बेरपछि स्याँ स्याँ गर्दै एउटा मान्छे सन्तुको नजिक आयो र उसलाई धन्यवाद दियो ।

"मेरो कुकुर खै त ?” सन्तुले आत्तिदै सोध्यो ।

"मैले तिम्रो कुकुरलाई बचाउन धेरै कोसिस गरें तर सकिनँ...।" त्यस मानिसले भन्यो ।

उसको कुरा सकिन नपाउँदै सन्तु मुख छोपेर डाँको छोडेर रुन थाल्यो-"हरे । म अब कसरी बाँच्नु ? यस संसारमा अब मेरो भन्ने कोही छैन ।"

त्यस मानिसलाई सन्तुप्रति दया जाग्यो। उसले भन्यो "हिँड, म तिमीलाई घर पुऱ्याइदिन्छु । तिम्रा बाले तिमीलाई अर्को कुकुर किनिदिनुहुन्छ ।"

"मैले घर छाडेको त कति वर्ष भइसक्यो। मेरी आमा थिइनन् । म अन्धो भएको कारणले बा गाली गरिरहन्थे। मैले एक दिन लालटिन ढालें अनि चिम फुट्यो । त्यसपछि बाले साह्रै चित्त दुख्ने गरी गाली गरे। मलाई घरमा बस्नै मन लागेन । त्यही कुकुरसिवाय मेरो कोही थिएन ।" सन्तुले रुँदै भन्यो । सन्तुका कुराले त्यस मान्छेको हृदय छिया-छिया भयो ।

"बाबु । तिमी मलाई आफ्नो मुख देखाऊ त ।” त्यस मान्छेलाई सन्तुको आवाज चिनेजस्तो लाग्यो ।

सन्तु त्यस मान्छेपट्टि फर्कियो। त्यस मान्छेले उसको अनुहार राम्रैसँग देख्यो । त्यो मान्छे अरू कोही नभएर उसकै छोरो रहेछ ।

सन्तुलाई छातीमा टाँस्दै उसले भन्यो - "सन्तु । मलाई माफ गर। म तिम्रो निर्दयी बाबु हुँ। तिमीले किन घर छोडेर हिँडेको, सन्तु ? बाबुले त्यति भन्दैमा तिमीले चित्त दुखाएर घर छोड्नुपर्थ्यो त ? आखिर म तिम्रो बाबु पो हुँ। मलाई जति तिम्रो माया कसलाई लाग्ला ? कति दिन मागेर खान्छौ, हिँड घर जाऔं। अबदेखि म कहिल्यै तिम्रो चित्त दुखाउने छैन ।"

सन्तुले पनि उसलाई बाबु भनी चिन्यो अनि भन्यो- “म अब राम्ररी देख्छु, अन्धो छैन बा । अब मागेर खान पर्दैन । काम गर्नसक्छु ।"

"जे भए पनि मेरो पनि तिमीबाहेक को छ र । हिँड घरै जाऊँ।" बाबुले यति भनेपछि सन्तु र उसका बाबु घरतिर लागे। 

बाटाभरि सन्तुले बाबुलाई परीको कथा सुनाउँदै गयो । परीले सेवा गर्नु भनेको कुरा पनि उसले बाबुलाई बतायो ।

बाबुले भने - "परीको कुरा त सत्य हो, सन्तु। त्यसैले त 'सेवा गरे मेवा मिल्छ' भनेको नि "

सन्तुले परीका शब्द र आफ्नो प्रिय साथी कुकुरलाई कहिल्यै बिर्सन सकेन ।
         🙏🙏🙏🙏🙏🙏